काठमाडौं । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले पूर्वप्रधानमन्त्री शिन्जो आबेको स्वास्थ्य नाजुक रहेको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री किशिदाले पूर्वप्रधानमन्त्री आबेलाई बचाउने हरसम्भव कोसिस गरिरहेको बताए ।
आज बिहान चुनावी अभियान अन्तर्गत नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो ।
प्रधानमन्त्री फुमिओ किशिदाले यो घटनालाई बर्बरतापूर्ण आक्रमण भनेर निन्दा गरेका छन् । उनले यसलाई सहन नसक्ने पनि बताए ।
पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको घटनाको अमेरिकाले पनि निन्दा गरेको छ ।