November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

तीन विषयमा छलफल गर्न कांग्रेस नेता कोइरालाले बोलाए भेला

1.9K

काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूलाई बैठकमा बोलाएका छन्। बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने कोइराला पक्षको भेलामा मुख्यगरी तीन विषयमाथि छलफल गर्ने तयारी छ।

पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने कांग्रेस नेता चन्द्र भण्डारी बताउँछन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै आलोचना भइरहेको छ।

साथै सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्। 

Advertisement

गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो। विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ।

सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनीत गर्नुपर्ने हो। तर अहिलेसम्म कोषाध्यक्ष पद रिक्त छ। 

३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवानिकटका हुन्। कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो। सभापतिमा देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य छन्।

यस्तै केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डलाई पनि सभापति देउवाले पूर्णता दिएका छैनन्।

सभापति देउवाले गत पुस १० मा कार्यभार सम्हालेका थिए। त्यो दिनदेखि गणना गर्दा पनि देउवा सभापति भएको छ महिना कटिसकेको छ।