November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

हैजाबाट बँच्न सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

3.4K

काठमाडौं । उपत्यकामा हैजाका बिरामी बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षायाम शुरू भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

विशेष गरी खानेपानी तथा खाद्या पदार्थको गुणस्तरमा ध्यान दिन अनुरोध गरिएको जनाएको छ । प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धिकरण गरेर र उमालेर मात्र खान मन्त्रालयले अनुरोध गरेक छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म १२ जनामा हैजा देखिएको छ ।

Advertisement

पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुनेजस्ता लक्षण झाडापखलाको रहेको भन्दै यस्तो लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान मन्त्रालयले आग्रह गरेको छ । खान र पिउनसमेत नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार वान्ता भइरहेमा, ज्वरो आएमा र धेरैपटक पातलो दिसा गएमा पनि अस्पताल लैजान भनिएको छ ।

मन्त्रालयले झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्न, दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुन, खाना बनाउनु, खुवाउनु र खानुअघि साबुन पानीले मिचिमिची हात धुन, पानी उमालेर वा फिल्टर गरेर पिउन वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउन आग्रह गरेको छ ।