काठमाडौं । कोरियामा चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शन हुने भएको छ । कोरोनाको कारण लामो समयसम्म कुनै पनि चलचित्र प्रदर्शन हुन नसकेको दक्षिण कोरियामा २६ जुन आईतबारका दिन उमसङ जिल्लास्थित मुगुक सहरमा ‘ए मेरो हजुर ४’ प्रदर्शन हुने भएको हो ।
उमसङ नेपाली समाज र हिमालयन फुटबल क्लवको संयुक्त आयोजनामा क्लवको आर्थिक सबलीकरणका लागि यो चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । यस कार्यक्रममा फिटनेस नेपाल, हिमालयन एफसी, नेपाली एण्ड थाई रेष्टुरेण्ट, सोफिया टिभी कोरिया स्पोन्सर पार्टनर रहेका छन् । चलचित्र मुगुकस्थित पुरानो बस टर्मिनल छेउमा रहेको हलमा दिउसो १२ बजे र ३ बजे गरि दुई शो प्रदर्शन गरिनेछ ।
आयोजकको तर्फबाट छोटो बधाई तथा सम्मान कार्यक्रम गरि सन्तोस लामाको नृत्यकला पनि प्रस्तुत गरिने जनाएको छ । हालसम्म विभिन्न संघसंस्था, रेष्टुरेन्ट र फुटबल क्लवहरुमा २५० वोटा भन्दा बढी टिकटहरु बितरण गरिसकेको टिमका व्यावस्थापक सरोज अधिकारीले जानकारी दिए ।
संस्थाले तीन वर्षअघि ‘ए मेरो हजुर ३’ पनि सफलतापूर्वक प्रर्दशन गरेको थियो । अहिले भने कोरियामै सबै भन्दा पहिले प्रदर्शन गरिने भएकोले दर्शकको बाक्लै उपस्थिति रहनेमा आयोजक ढुक्क छन् ।