काठमाडाैं : पछिल्लो समय तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ। मंगलवार नेप्से परिसूचक ३९.९३ अंक बढेर १९२४.७४ बिन्दुमा पुगेको छ।
त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.९ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ अंकले बढेको छ।
मंगलवार कारोबारमा आएका २३१ कम्पनीको ३७ लाख ६५ हजार कित्ता शेयर १ अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचक वृद्धि भएपनि मंगलवार कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ।
अघिल्लो कारोबार दिन १ अर्ब ७५ करोडको शेयर कारोबार भएको थियो। मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत बढेको छ।
त्यस्तै, वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
मंगलवार ३ वटा कम्पनीको शेयर मूल्य शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आँधिखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ।