November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘सोल अफ दि कमाण्डो’ ले गोर्खाहरुको परिचय र कदरलाई अझ विस्तार गर्नेछः रोमियन लिम्बू

3.8K

लण्डन । नेपाली चलचित्र कलाकर संघ (फान) यूकेकी अध्यक्ष रोमियन लिम्बूले नेपाली कथानक चलचित्र ’सोल अफ दि कमाण्डो’ ले गोर्खाली सैनिकहरुको परिचय, वीरगाथा र इतिहासमा उनीहरुको योगदानलाई विश्वव्यापीकरण गर्ने विश्वास व्यक्त गरेकी छन् । चलचित्र ’सोल अफ दि कमाण्डो’ आगामी अगस्ट २७ मा बेलायतमा प्रिमियर शो हुँदैछ ।

गत आइतबार एक पत्रकार सम्मेलन गर्दे फान यूकेकी अध्यक्ष लिम्बूले गोर्खाहरुको परिचय, योगदान र उनीहरुको कदर जस्ता विषयहरु चलचित्रको कथा वस्तुमा समेटिएको जानकारी दिईन् । “हाम्रा पुर्खाहरुको वीरताको इतिहास, उनीहरुले बेलायती साम्राज्यको लडाईंमा प्राप्त गरेको भिक्टोरिया क्रस मात्रै नभएर उनीहरुले आफ्नो देशप्रति देखाउने राष्ट्रप्रेम समेत चलचित्रमा समेटिएको छ“, उनले पत्रकारहरुलाई बताइन् ।

‘सोल अफ दि कमाण्डो सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुले हेर्न लायक चलचित्र बनेकाले शनिबार २७ अगष्टमा प्रिन्सेस हलमा चलचित्र हेर्न आइदिनु होला’, उनले मिडियामार्फत सबैलाई चलचित्र हेर्न जान आग्रह गरिन् ।

Advertisement

गत जुन १९ का दिन अल्डर्शटको प्यालेस हलमा आयोजित पत्रकार सम्मेलन को अध्यक्षता फान यूकेकी अध्यक्ष रोमियन लिम्बू आफैंले गरेकी थिइन् । कार्यक्रममा काउन्सिलर प्रवेश केसी र नेपाली चलचित्र क्षेत्रका बरिष्ठ व्यक्तित्व विनोद मानन्धर साथ बेलायतस्थित विभिन्न नेपाली सञ्चार माध्यम, पत्रकारहरु र चलचित्रमा अभिनय गरेका कलाकारहरुको उपस्थिति रहेको थियो ।

उक्त चलचित्र प्रदर्शन हुने दिन अर्थात २७ अगष्टमा नेपालबाट समेत कलाकारहरुको उपस्थिति रहने बताईएको छ । पूर्व गोर्खा सैनिक समेत रहेका राजकुमार राई चलचित्रमा मुख्य कलाकारको भुमिकामा छन् । उक्त चलचित्रको निर्माता र निर्देशक उनी आफैं हुन् । बेलायती सेनामा सेवा गरेका उनी अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी समेत रहेका राजकुमार राई पनि पत्रकार सम्मेलनमा उपस्थित थिए ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै निर्माता, निर्देशक तथा अभिनेता राईले चलचित्र एकदमै सफल हुने आफुहरुले आँकलन गरेको भन्दै चलचित्रबाट सकंलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने पनि बताए ।

उनीसँग चलचित्रमा अभिनय गर्ने अन्य कलाकारहरुमा कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, संगीता लिम्बु र उनकी छोरी रहेका छन् ।