काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले कृषि प्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको बताएका हुन्।
सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्ने नीति आएको बताए। उनले सरकारी कार्यालयहरूका विभिन्न बैठकहरूमा नेपाली बिस्कुट नै प्रयोग गर्न आग्रह गरे।
उनले भने, ‘सरकारी कार्यालयहरूमा नेपाली बिस्कुट मात्रै खाने नीति बनाएका छौँ। विदेशी बिस्कुटहरू खाइरहेका हुन्छौँ अबदेखि नेपाली बिस्कुट नै खानुपर्ने भन्ने कुरा गरिएको छ। वार्षिक साढे ३ खर्बको खाद्यवस्तु नेपाल आइरहेको छ। कृषि प्रधान देशले साढे ३ खर्बको खाद्यवस्तु विदेशबाट ल्याएर खायो भने देश बनाउन सक्छौँ? त्यसकारण देशको उत्पादनलाई प्राथमिकता दिने गरेर अहिलेको नीति तथा कार्यक्रम ल्याइएको छ।’
रुस-युक्रेन युद्धकाे असर
पछिल्लो समय पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धि सरकारले नभइ अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आएको समस्या र अन्तर्राष्ट्रिय स्तरमा भएका युद्धहरूको प्रभावका कारण मूल्य बढेको बताए। खाने तेलको मूल्य पनि अन्तर्राष्ट्रिय घटनाहरूको प्रभाव कारणले बढेको बताए।