November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एमाले नेता टोपबहादुरको क्षेत्रबाट कलाकार दुर्गा बन्जाडे चुनाव लड्ने

2.4K

काठमाडौं : भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगर धरान उपमहानगरमा बालेन साह र हर्क राई जस्ता स्वतन्त्र उम्मेदवार विजयी भएपछि नेपाली राजनीतिमा स्वतन्त्र उम्मेदवार उठे जितिन्छ भन्ने चासो बढेको छ।

पछिल्लो समय आगामी संघीय र प्रदेशसभाको चुनावको मिति घोषणा नहुँदै विभिन्न व्‍यक्तिहरूले चुनावमा लड्ने घोषणा गर्न थालिसकेका छन्। यसैक्रममा सञ्चारकर्मी रवि लामिछानेदेखि महानायक राजेश हमालसम्म स्वतन्त्र उम्मेदवारीको चर्चा चलिरहेको छ।

त्यस्तै, ३ वर्षदेखि काठमाडौंमा बसेर कलाकारिता क्षेत्रमा पहिचान बनाएका अर्घाखाँचीका दुर्गा बन्जाडेले पनि प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। उनले भद्रगोल, गोलमाल, ख्याल ठट्टालगायत टेलिसिरियलहरूमा अभिनय गर्दै आएका छन्। बन्जाडेले विभिन्न टेलिसिरियलमा गरेको अभिनयलाई दर्शकले पनि रुचाएका छन्।

Advertisement

कलाकार बन्जाडेले अर्घाखाँची क्षेत्र नम्बर २ बाट आफू चुनाव लड्न लागेको बताएका छन्। चुनावी मैदानमा नेताहरू जनतालाई चिल्ला भाषण दिने र दिएका बाचा अधुरै राख्ने भएकाले त्यसलाई पूरा गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिने लागेको बन्जाडेले बताए।

अर्घाखाँचीको यो क्षेत्रबाट २०७४ मा तत्कालीन माओवादी केन्द्रबाट टोपबहादुर रायमाझीले जितेका हुन्। माओवादी र नेकपा एमाले मिलेर नेकपा बनेको र त्यो पार्टी विभाजनसँगै उनी एमालेतर्फ लागेपछि रायमाझीलाई माओवादीले कारबाही गर्दा यो क्षेत्रमा उपनिर्वाचन पनि भएन र हाल रिक्त नै रहेको छ।