विराटनगर।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम चालू बजेट अधिवेशनबाटै टुङ्गिने दाबी गरेका छन् ।उनले नामको विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलभित्रै एक मत नभएकाले भोटिङको प्रक्रियाबाट भए पनि नामको टुङ्गो लगाइने बताएका हुन् ।
नेकपा एकीकृत समाजवादी मोरङको आयोजनामा शनिवार विराटनगरमा आयोजित जिल्ला स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘सबैभन्दा ठुलो दल एमाले पनि नाम टुङ्ग्याउने विषयमा अग्रसर देखिएको छ । यसको अगुवाइ सरकाले लिएको छ । सके सहमतिबाट, नभए भोटिङ सिस्टमबाट भए पनि नामकरणको विषय टुङ्गिनेछ ।
त्यसलाई सबैले स्विकारेर जानुपर्छ ।’ उनले आगामी आर्थिक वर्ष मुख्यमन्त्री, मन्त्री र जिल्लास्थित कार्यालय निर्माणको कार्य अघि बढाइने पनि बताए । उनले भवन निर्माणका लागि बजेट विनियोजन गरिएको र विराटनगरमा मुख्यमन्त्री कार्यालय निर्माण हुने जानकारी दिए। मुख्यमन्त्री राईले केन्द्र सरकारले प्रदेश सरकारलाई उपेक्षा गरेको गुनासो गरे ।
उनले आर्थिक अधिकारदेखि कार्य क्षेत्रमा प्रदेशलाई कमजोर बनाउने काम भएको गुनासो गरेका हुन् । पुँजीबिनाको अर्थ मन्त्रालय, पुलिस र कर्मचारीविनाको प्रदेश सरकार छ अहिले’, उनले भने, ‘मुख्यसचिवदेखि सचिवसम्मको खटनपटन केन्द्रबाटै हुन्छ । केन्द्रले अधिकार नदिएर प्रदेशलाई उपेक्षा गरेको छ ।’
