पाँचथर । ताप्लेजुङ जिल्ला सिरीजंघा गाँउपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ।
अविरल बर्षसंगैको पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत सदरमुकाममा रहेको हेलिप्याडमा ल्याएर उपचार गर्ने र थप उपचार गर्नुपर्ने भएमा त्यही हेलिकोप्टरबाटै विराटनगर पठाउने तयारी छ।
हेलिप्याडमा घाइतेको उपचारका लागि डक्टरहरु पुगिसकेको ताप्लेजुङका प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिए । पहिरोमा परी ३४ वर्षीय यशोदा अधिकारी र ५९ वर्षीय तुलसा अधिकारीको मृत्यु भएको प्रजिअ पोखरेलले बताए ।
सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार पहिरोले पुरिएर सासु तुलसा अधिकारी र बुहारी यसोधा अधिकारीको मृत्यु भएको हो । मृतक दुवैजनाको सव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेका उपाध्यक्ष माबोले जानकारी दिए ।
गृहमन्त्री खाणले पहिरोबाट थप क्षति हुन नदिन सतर्क रहन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् । उनको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरिसकेको छ।
