November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लिम्बुवान सत्रथुमको इतिहासमा आधारित भिडियो ‘सत्रथुम’ सार्वजनिक

7.8K

काठमाडौं । पुर्वेली लोकभाका ‘सत्रथुम’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा पेपराज माबुहाङ र श्रेयसी चेम्चोङको स्वर रहेको छ भने पेशल माबुहाङको शब्द, सञ्जय तुम्बाहाम्फेको संगीत र राजु कार्कीको संयोजन रहेको छ ।

भिडियोलाई तेह्रथुमको चोत्लुङ पार्कदेखि पाँचथरको त्रिसाली मेलासम्मको स्थानहरुमा छायाँकन गरिएको छ । त्रिसाली मेला पाँचथरको यासोकमा हरेक ३ वर्षमा एकपटक लाग्ने गर्छ । उक्त मेलामा विशेष कुम्मायक–कुस्सायकको पूजा तथा दर्शन गर्ने गरिन्छ ।

उक्त भिडियोमा पुष्पाञ्जली तिल्लिङको साथमा राज लिम्बु, तेजेन्द्र चेम्जोङ, जीवन केदेम, सुमन लिम्बु, प्रमिशा सम्बाहाम्फे, आरती सम्बाहाम्फे, दिब्या सम्बाहाम्फे लगायतको अभिनय रहेको छ ।

Advertisement

गीतमा मायाप्रेमको साथमा लिम्बुवान इतिहास, संस्कार÷संस्कृति र राजनीतिक दस्तावेजको समिश्रण गरिएको छ । लिम्बुवान सरदारहरुले राज्य संचालन गर्दाको व्यावस्था तथा कागजपत्रहरु किपट, सुभाङ्गी, लालमोहर, अमाल साथै याक्थुङ मुन्दुमसँग जोडिएका खानपानदेखि येवा/साम्बाहरुको विषयलाई यस गीतमा समेटिएको छ ।

‘सत्रथुम’ भित्र सभाउत्तर, मैवाखोला, मेवाखोला, पाँचखपन, दशमजिया, आठराई, तम्मरखोला, याङवरक, चारखोला, पान्थर, चौवीस, जलहारा बेलहारा, सोह्रखाल्सा, छथर, फेदाप र चैनपुर पर्दछन् । यी थुमहरुमा लिम्बुवानका दश सरदारहरुले राज्य संचालन गरेको ठाउँ हुन् । ती इतिहासलाई गीतसंगीतमार्फत जीवन्त राख्न गीत लेखेको यस गीतका गीतकार तथा साहित्यकार दिलदुखी जन्तरेले बताए । ‘फरक विषयवस्तुलाई समेटेर यो गीत लेखेको हुँ, अहिले वहसमा आएको सिरिजङगा लिपीलाई पनि समेटिएको हुँदा यो गीत ऐतिहासिक बनेको छ, दर्शक श्रोताको मन जित्छ भन्ने लागेको छ ।’, माबुहाङले भने ।

भिडियोलाई गीतकार÷लय संकलक तथा सांस्कृतिक अभियन्ता रीता फोम्भो ठूलीले निर्माण गरेका हुन् । बेलायतमा बस्दै आएकी ठूलीले यस अघि पनि थुप्रै भिडियोहरुको निर्माण तथा अभिनय गरेकी छन् । आफू लिम्बु संस्कृतिको अभियानसँग जोडिदै आएको र यस गीतको भावहरु पनि लिम्बुवान इतिहाससँग सम्बन्धित भएको हुँदा गीतको भिडियो निर्माण गरेको ठूलीले बताइन् ।

हाङ चेम्जोङको निर्देशन, इशाक जबेगु र धिरेन तुम्बापाको छायाँकन रहेको यस भिडियोको सम्पादन पनि इशाक जबेगुले नै गरेका हुन् भने श्रृङ्गार सुमन मग्रातीले गरेका हुन् ।