काठमाडौं – नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले कित्ता परिवर्तन नगर्ने भएका छन् । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा उनले यस्तो स्पष्ट पारेका हुन् ।
प्रचण्ड निकट स्रोतले जनाएअनुसार भेटमा बादलले स्पष्ट रुपमा प्रचण्डलाई साथ दिन तयार रहेको बताएका थिए । ‘उहाँले स्पष्ट रुपमा साथ दिन्छु भन्नुभएको छ’, प्रचण्ड निकट स्रोतले भन्यो ‘उहाँले छिट्टै राजीनामा दिनुहुन्छ, भोलीदेखि हुने केन्द्रीय समिति बैठकमा उहाँको भूमिका रहन्छ ।’
पार्टी अध्यक्ष प्रचण्ड बादलसँग छलफल गर्न सोमबार मध्यान्ह मन्त्रि निवास पुल्चोक पुगेका थिए । उनी १५ मिनेट जति मात्रै बादलसँग छलफल गरि निस्किएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरिरहँदा गृहमन्त्रीसमेत रहेका बादलले मौन रुपमा समर्थन जनाएका थिए । प्रचण्ड तथा माधव नेपाल पक्षीय मन्त्रीहरुले सामुहिक राजीनामा दिँदासमेत उनी ओली समर्थनमै देखिएका थिए ।
तर, आफुँ निकटका अधिकांश नेताहरु प्रचण्ड तथा नेपाल पक्षमा देखिएपछि उनी कित्ता परिवर्तन नगर्ने निर्णयमा पुगेका हुन् । सोमबार आफ्नै निवासमा भएको छलफलमा पनि नेताहरुले कित्ता परिवर्तन नगर्न उनलाई आग्रह गरेका थिए ।