इलाम : जिल्लाको सूर्योदय नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचन सिसी क्यामरा बन्द नगरी गराइएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ।
नगरपालिकाको सभाहलमा रहेको मतदानस्थलमा रहेको सिसी क्यामेरा खुल्ला राखेर नै मतदान कार्य अघि बढाइएपछि कांग्रेसले पुनः मतदान हुनुपर्ने माग राखेको छ। कांग्रेसका कार्यकर्ताहरुले हालसम्म हालिएको मतपत्रलाई जलाएर पुनःमतदान हुनुपर्ने माग राखेका हुन्।
मतदानस्थलमा नयाँ र पुरानो गरी ५ वटा सिसि क्यामरा रहेका थिए। अहिले मतदान प्रक्रिया रोकिएको छ। दलका प्रतिनिधिहरु छलफलमा बसेर समाधान निकाल्ने प्रयत्न गरिरहेका छन्।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको यस नगरमा गठबन्धन तोड्दै नेकपा एसले एमालेसँग मिलेर कार्यपालिका चुनाव लडेको छ। १४ वडा रहेको सूर्योदयमा नेपाली कांग्रेसका नगर उपप्रमुखसहित ३४ जना जनप्रतिनिधि छन्।
नेकपा एसको नगर प्रमुखसहित २० जना र एमालेका १८ जना जनप्रतिनिधि रहेका छन्। गठबन्धन दल माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका थिए।
