धरान । जनता समाजवादी पार्टी नेपाल, शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले ऐतिहासिक श्रमजीवि वर्ग, शिल्पी समूदायको परम्परागत शिल्पकला, सँस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न भू–स्वामित्व सहितको शिल्पी साँस्कृतिक सङ्ग्रहालय स्थापना गर्न प्रदेश १ सरकारसँग माग गरेको छ । विहिवार प्रदेश १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईलाई उनको कार्यकक्षमा भेटगरि सो कुराको माग गरिएको हो ।
शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा प्रदेश १ को मन्त्रीपरिषद शिल्पी÷दलित समुदायको प्रतिशतका आधारमा बनाईनुपर्ने वा हाललाई कम्तिमा १ जना प्रतिनिधित्व गराईनुपर्ने, सर्वाधिकार सम्पन्न शिल्पी÷दलित विकास समिति गठन गरिनुपर्ने, प्रदेश योजना आयोग लगायत सरकारद्वारा गरिने राजनीतिक नियुक्तिहरु समानुपातिक, समावेशी सिद्धान्तका आधारमा गरिनुपर्ने, अति विपन्न शिल्पी÷दलित भूमिहिन, अव्यवस्थित वसोवास तथा सुकुम्बासीहरुको गाँस, बास, कपास र रोजगारीको व्यवस्था गरिनुपर्ने, शिल्प सम्बन्धि पेशा व्यवसायलाई संरक्षण, प्रवर्द्धन, बजार व्यवस्थापन तथा विशेष अनुदानको व्यवस्था मिलाईनुपर्ने, शिल्पी÷दलितका छोराछोरीहरुलाई छात्रवृत्ति सहित उच्च शिक्षासम्म निःशुल्क शिक्षा प्रदान गरिनुपर्ने, स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य विमा गरिनुपर्ने, अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन र व्यवस्थापन गर्न तीन लाख रुपैयाँ प्रदान गरिनुपर्ने, वैदेशिक रोजगारमा जान चाहने शिल्पी÷दलित युवाहरुलाई विना धितो ऋण उपलब्ध गराईनुपर्ने, छिन्ताङ काण्ड लगायत प्रदेश १ का विभिन्न स्थान र समयमा समाज रुपान्तरणका लागि प्राणको आहुती दिने शहिदको सम्मान र उनीहरुको परिवारको व्यवस्थापन गरिनुपर्ने ,तथा कथित दलित समूदायलाई ऐतिहासिक पहिचानका आधारमा शिल्पी पहिचान स्थापित गराईनुपर्ने लगायत १५ बुँदे मागहरु राखिएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री राईले यी विषयहरुलाई आफूले गम्भीर रुपमा लिएको र यी मागहरुमाथि छलफल गरि कार्य प्रारम्भ गर्ने बताए ।
ध्यानाकर्षण पत्र बुझाउन जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामी, सोही समितिका प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा क्षितिज, सचिव शशीकुमार विश्वकर्मा लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
