शुक्रबारे । छथर गाउँ कार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले आगामी विभिन्न योजनाहरुबारे निर्णय गरेको जनाइएको छ ।
बिहीवार अध्यक्ष सन्तोष तिगेलाको अध्यक्षतामा सम्पन्न बैठकले कार्यपालिका, गाउँसभा सदस्यहरूले औपचारीक सभा बैठकमा अनिवार्य दौरा सुरूवाल, साडीचोलो तथा जातीय पोसाक लगाउनुपर्ने निर्णय गरेको छ ।
अध्यक्ष तिगेलाका अनुसार बैठकले एक घर एक खानेपानी धारा अभिायनका लागि यहि महिनादेखि वडा नम्बर ५/६ मा ढाँडखोला खानेपानी संचालन गर्ने, २, ३, ४ मा तेलिया खानेपानी योजना पुरा गर्ने, डङ्डङ्गे खानेपानी मूल थप गर्ने, शुक्रबारे बजारका लागि नयाँ योजना संचालन गर्ने, दीर्घकालीनका लागि तमोर लिफ्टीङ्ग, लम्बु तेलिया सौर्य लिफ्लिङ्ग पहल गर्ने र आकस्मिक प्रयोजनका लागि डिवबोरिङ्ग चालु अवस्थामा राख्ने लगायतको निर्णय गरिएको छ ।
यस्तै, गाउँपालिकामा बसोबास गर्ने भूमिहिन सुकुम्बासीहरूलाई निःशुल्क जग्गा प्रदान गर्ने, अव्यवस्थित बजार र उत्पादनमा आधारित भोगचलनमा रहेका जग्गाहरूलाई भोगचलनको निस्सा वितरण गर्ने बारे पनि बैठकले निर्णय गरेको छ ।
त्यसैगरी, आजको बैठकले गाउँपालिकाको प्रसासनिक भवन निर्माणका लागि डिपिआर तयार गरी निर्माणमा पहल गर्ने साथै गाउँपालिकामा संचालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आईतबार पनि नियमित पठनपाठन गर्ने गराउने निर्णय गरेको जनाइएको छ ।
बैठकमा स्थानीय तह निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सम्पूर्ण धन्यवाद ज्ञापन गरिएको थियो ।