पाँचथर । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद बहाली तथा शपथ ग्रहण गरेका छन् । एक समारोहबीच अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यहरु लगायत जम्मा २७ जना नवनिर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहण गराइएको हो ।
गाउँपालिकाको पाँच वटै वडाका नवनिर्वाचित जनप्रतिनिधिहरु मध्ये जनता समाजवादी पार्टीका निर्वाचित वडा नम्बर १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतीले भने लिम्बु मातृभाषामा शपत ग्रहण गरेका थिए भने अन्यले नेपाली भाषामा शपथ, गोपनियता तथा पद बहाली गरेका थिए ।
शपथ ग्रहणको क्रममा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बमप्रसाद लावतीले निर्वाचित प्रतिनिधिहरुले दलीय स्वार्थभन्दा माथि उठेर जनताको सेवक बन्नुपर्ने बताए ।
यस्तै, कुम्मायक गाउँपालिकाको भाग्य र भविश्यलाई सुनिश्चित आमूल प्रतिरुप दिन अहोरात्र खट्ने नवनिर्वाचित उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए ।
समारोहमा निवर्तमान वडा अध्यक्षहरु यामबहादुर बोहोरा र पुर्ण खड्का लगायत जनता समाजवादी पार्टी कुम्मायकका संयोजक टि.एन सम्बाहाम्फे, लिम्बुवान राष्ट्रिय समिति सदस्य जकेन्द्र लावती, नेकपा माओवादी केन्द्रका सह–इन्चार्ज प्रकाश काफ्ले, नेकपा एकीकृत समाजवादी कुम्मायक सह–इन्चार्ज राजु खतिवडा, नेपाली काँग्रेस कुम्मायकका पार्टी प्रतिनिधि लगायत नागरिक समाज तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।