कोलम्बो : श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजपक्षेलाई त्रिङ्कोमालीस्थित नौसेनाको अखडामा सुरक्षा घेरामा राखिएको छ। रक्षा मन्त्रालयका सचिव कमल गुणरत्नेले बुधबार यस्तो जानकारी दिएका हुन्।
श्रीलंका अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ। सरकारले यसलाई सम्बोधन गर्न नसकेको भन्दै देशव्यापी विरोध प्रदर्शन हुन थालेपछि ७६ वर्षीय महिन्दालाई सुरक्षा प्रदान गरिएको हो। यसैबीच विपक्षी दलहरूले उनलाई पक्राउ गर्नुपर्ने माग गरिरहेका छन्।
श्रीलंका पीपुल्स पार्टी (एसएलपीपी)का नेता महिन्दा सन् २००५ देखि २०१५ सम्म देशका राष्ट्रपति थिए। यो अवधिमा उनले लिबरेशन टाइगर्स अफ तमिल इलम (लिट्टे) विरुद्ध सैन्य अभियान सञ्चालन गरेका थिए। उनले गृहयुद्धमा फसेको देशमा लिट्टे विद्रोहीलाई तह लगाएका थिए।
गुणरत्नेले भर्चुअल पत्रकार सम्मेलनमा महिन्दालाई त्रिङ्कोमालीस्थित नौसेनाको अखडामा सुरक्षित राखिएको जानकारी दिए। महिन्दालाई कोलम्बोस्थित उनको ‘टेम्पल ट्रिज’ निवासबाट त्रिङ्कोमालीको नौसेनाको अखडामा सुरक्षित रूपमा सारिएको उनले बताए।
‘हामीले देख्यौं कि कसरी उनीहरू (प्रदर्शनकारीहरू) त्यो रात ‘टेम्पल ट्रिज’ मा प्रवेश गर्न खोजेका थिए र हामीले उनीहरूलाई रोकेका थियौं’, गुणरत्नेले भने।
उनले स्थिति सुधार नभएसम्म महिन्दालाई त्यहाँ राखिने बताए। त्यसपछि उनी आफूले चाहेको ठाउँमा जान सक्ने बताए।