काठमाडौँ- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सचिवालय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिन आग्रह गरेका छन्। शनिबार बिहान प्रचण्डलाई भेट्न खुमलटार गएका ओलीले प्रतिवेदन फिर्ता गरी संयुक्त प्रतिवेदन लैजानका लागि प्रस्ताव गरेका हुन्।
ओलीले यसअघि कातिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन फिर्ता लिन निरन्तर आग्रह गरिरहेका छन्। भेटमा प्रचण्डले ओलीलाई आधिकारिक पार्टी कमिटीमा पेस भएको प्रतिवेदन फिर्ता नहुने बताएको प्रचण्ड निकट एक नेताले बताए।
‘पार्टी कमिटी पेस भएको प्रतिवेदन मेरोमात्रै होइन। अरु साथीहरूसमेत सहभागी भएर बुझाइएको हो,’ प्रचण्ड-ओलीको संवादपछि प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट ती नेताले भने, ‘अब पार्टी कमिटीमा पेस भइसकेपछि छ्लफल गरौँ। त्यहीँबाट निकास निस्कन्छ। अब प्रतिवेदन फिर्ता गर्न मिल्दैन।’
प्रचण्डले प्रतिवेदन फिर्ता लिन नमानेपछि ओलीले बैठकमै आउन मानेका छैनन्। ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोपपत्र भन्दै पार्टी कमिटीमा छलफल गर्न नहुने अडान लिइरहेका छन्।
यस्तै ओली-प्रचण्ड भेटपछि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर छ्लफल गरिएको थियो। ओली-प्रचण्ड र गौतमबीचको त्रिपक्षीय छलफलमा प्रचण्डको प्रतिवेदन फिर्ता लिन ओलीले आग्रह गरेका थिए।