काठमाडाैं । प्रशान्त नीलद्वारा लिखित तथा निर्देशित कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ को कमाइ ९ अर्ब भारतीय रूपैयाँ पुगेको छ। दोस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्मले ११ दिनमा ९ अर्बको आँकडा छोएको हो।
१० हजारभन्दा बढी पर्दामा एकसाथ प्रदर्शनमा आएको फिल्मले पहिलो दिन नै १ अर्ब ३० करोडभन्दा बढी कमाइ गरेको थियो। निर्माण टोलीका अनुसार फिल्मले ११ दिनमा विश्वभरिबाट ९ अर्बको कमाइ गरेको छ। योसँगै सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा ‘केजिएफ २’ छैटौँ नम्बरमा पुगेको छ।
१ अर्ब बजेटमा बनेको फिल्मले ११ दिनमै ‘पिके’, ‘बजरंगी भाइजान’, ‘बाहुबलीः द बिगिनिङ’ जस्ता सुपरहिट फिल्मको लाइफटाइम बक्स अफिस कलेक्सनलाई पछि पारेको छ। सबैभन्दा बढी कमाउने भारतीय फिल्मको सूचीमा पहिलो नम्बरमा ‘दंगल’ रहेको छ भने ‘बाहुबली २’, ‘आरआरआर’, ‘बजरंगी भाइजान’ र ‘सेक्रेट सुपरस्टार’ क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन्।
‘केजिएफ २’ ले अबको एक हप्तामा ‘बजरंगी भाइजान’ र ‘सेक्रेट सुपरस्टार’लाई पछि पार्ने विश्लेषकहरूले बताएका छन्। ‘केजिएफ २’ को भन्दा ‘बजरंगी भाइजान’को बक्स अफिस कलेक्सन ७० करोड र सेक्रेट सुपरस्टारको कलेक्सन ६६ करोडले बढी छ।
सन् २०१८ मा प्रदर्शनमा आएको ‘केजिएफ च्याप्टर १’ ले २ अर्ब ५० करोडको कमाइ गर्दै कन्नड फिल्म उद्योगमा सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो। कन्नड फिल्म उद्योगको लागि च्याप्टर १ को रेकर्ड ब्रेक गर्दै च्याप्टर २ ले नयाँ रकर्ड सेट गरेको छ। फिल्ममा यश राज केन्द्रीय भूमिकामा देखिएका छन् भने सञ्जय दत्त, रविना टन्डन, श्रीनिधि सेट्टी, प्रकाश राजलगायत कलाकारको मुख्य भूमिका रहेको छ।