काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वप्रधानन्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन्।
राजनीतिक संकटबीच पिटिआई अध्यक्ष प्रधानमन्त्री खानले अहमदलाई कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका हुन्। आइतबार प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति डा अरिफ अल्भीले पाकिस्तानको संसद विघटन गरेका थिए।
खानविरुद्धको अविश्वासको प्रस्तावलाई तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुखले खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेका थिए। उनले ९० दिनभित्र मध्यावधि निर्वाचन गराउने प्रतिवद्धता गरेका छन्।
अविश्वासको प्रस्तावको खारेजी र संसद विघटनविरुद्ध विपक्षीले सर्वोच्च अदालतमा उजुरी दिएका छन्। उजुरीबारे आज सुनुवाई हुँदैछ।