November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेसको निर्णय : स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल

1.3K

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने नीतिगत निर्णय गरेको छ। शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठक मंगलबार यही निर्णयसँगै सकिएको छ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुपमा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’  बैठकको निर्णयमा उल्लेख छ। 

तालमेलबारे व्यावहारिक रुपमा निर्णय गर्न केन्द्र, जिल्ला र स्थानीय तहमा संयन्त्र बन्ने प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको हो।

Advertisement

यस्तै, बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति  र पार्टी प्रवक्ता महतको नेतृत्वमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ। समिति सदस्यहरु भने सभापति देउवाले आवश्यक परामर्श लिई पूर्णता दिने जनाइएको छ।

केन्द्रीय समिति बैठकले २०७८ फागुन ३० गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरूलाई अनुमोदनसमेत गरेको छ।

त्यस्तै, नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समितिको गठन गरेको बताइएको छ।

बैठकले प्रदेशसभाका सदस्य र प्रदेश मन्त्रीपरिषद् सदस्यले सम्बन्धित प्रदेशसभा संसदीय दलमार्फत आफूले प्राप्त गर्ने मासिक पारिश्रमिकको २० प्रतिशत रकम २०७९ वैशाख १ गतेदेखि प्रदेशसभा संसदीय दलले पार्टीको सम्बन्धित प्रदेश कार्य समितिको खातामा जम्मा गर्नुपर्ने निर्णय पनि गरेको छ।