काठमाडाैं । कम्तीमा १० अर्ब रुपैयाँ खर्च गरेर ७४ वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारीमा रहेको नेपालले विश्वभरका वायुसेवा कम्पनीलाई व्यवसायिक उडानका लागि निम्तो दिएको छ ।
दक्षिण भारतको तेलंगानास्थित हैदराबादमा आयोजित ‘विंग्स इन्डिया : ग्लोबल एभिएसन समिट २०२२’ मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइपुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले शनिबार उद्घाटन समारोहमा भने, ‘नेपालले भगवान बुद्धको जन्मजयन्तीको साइत पारी १६ मेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनको लागि तयारी पूरा गरेको छ । म उडानसँग सरोकार राख्ने सबैलाई बुद्धको जन्मथलोमा निमन्त्रणा गर्न चाहन्छु ।’
सरदार पटेलरोडस्थित बेगमपेट विमानस्थलमा बिहीबारबाट सुरु भएको चारदिने हवाई मेलामा मन्त्री आलेले नेपालको नागरिक उड्डयन नीति वैदेशिक लगानीकर्तामैत्री भएको उल्लेख गर्दै भारत लगायत सहभागी मुलुकका विमान उत्पादक, वायुसेवा–कार्गो संचालक, एमआरो (जहाज मर्मत गर्ने संस्था), विमानस्थल लगानीकर्ता लगायत उड्डयन व्यवसायसँग सरोकार राख्नेहरुलाई नेपालको खुला आकास नीतिको अधिकतम लाभ उठाउन आग्रह गरे ।