November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दमकको १८ तले भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माओवादीको माग

3K

झापा । नेकपा (माओवादी केन्द्र)ले दमकमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माग गरेको छ । दमक–३ मा बन्दै गरेको १८ तले भ्युटावरलाई सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण गर्न माग गरेको हो ।

माओवादी केन्द्रको नगर कमिटी बैठकले मेडिकल कलेजसहितको अस्पतालमा रूपान्तरण गर्न माग गरेको नगर कमिटी अध्यक्ष रवि बस्नेतले जानकारी दिए । ‘त्यहाँको संरचना अस्पताल बनाउन हुने नै छ । स्थलगत अनुगमन गरेर हामी यो निष्कर्षमा पुगेका हौँ,’ उनले भने, ‘हामीले गरेको निर्णय पार्टी केन्द्र र अध्यक्ष प्रचण्ड, अर्थ मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत मुख्यमन्त्री कार्यालयमा पनि पठाउने छौँ ।’

दमक क्षेत्रमा ठुलो सरकारी अस्पताल नभएका कारण पनि बन्दै गरेको संरचनामा मेडिकल कलेजसहित प्रादेशकि अस्पताल सञ्चालन गर्न माग गरिएको माओवादी दमकका इञ्चार्ज वेदु गौतमले जानकारी दिए । ‘जनताले निजी अस्पतालमा उपचार गर्न महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । सुविधा सम्पन्न सरकारी अस्पताल यहाँको आवश्यकता हो । यहाँ प्रादेशिक अस्पताल बनाउने हो भने प्रदेश-१ का नागरिकले राम्रो सुविधा पाउने थिए,’ उनले भने, ‘अस्पताल १५ तलासम्म राखौँ । त्यहाँमाथिको संरचना भ्युटावरको रूपमा नै प्रयोग गरौँ । त्यसो गर्दा अस्पताल पनि हुन्छ भ्युटावर पनि हुन्छ ।’

Advertisement