काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएका जिम्मेवारी आफूले पूरा गरेको बताएका छन् । शनिबार काठमाडौं महानगरपालिका– १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै मेयर शाक्यले महानगरबासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताएका हुन् ।
सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको शाक्यको दावी छ । उनले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकिर समेत गरे । सबै वडाहरुलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै मेयर शाक्यले सबै काम सम्पन्न नै भइसक्यो भनेर आफूले भन्ने नगरेको बताए ।
त्यस्तै, विकास, निर्माणको काम निरन्तरको काम भएको भन्दै त्यसमा आफूले सकेको योगदान दिएको बताए । मुद्दा मामिलाका कारण पनि महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालय बनाउन नसकिएको शाक्यले स्पष्टिकरण दिए ।