November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पोल्यान्डकी क्यारोलिना ‘मिस वर्ल्ड २०२१’

3.5K

लस एन्जलस : पोल्यान्डकी क्यारोलिना बिलावस्काले ‘मिस वर्ल्ड’ २०२१ को उपाधि जितेकी छिन्। ‘मिस वर्ल्ड’ को ७०औँ संस्करण बुधबार पुएर्तो रिकोको कोका–कोला म्युजिक हलमा सम्पन्न भएको थियो।

‘मिस वर्ल्ड’ को आधिकारिक वेबसाइटका अनुसार बिलावस्कालाई २०२० की  ‘मिस वर्ल्ड’ जमैकाकी टोनी-एन सिंहले ताज लगाइदिएकी थिइन्।

‘मिस वर्ल्ड’ २०२१ को उपाधि जितेपछि बिलावस्काले भनिन्, ‘मेरो नाम सुनेर म छक्क परेँ। मलाई अझै पनि विश्वास लागेको छैन। मिस वर्ल्डको उपाधि पाउँदा गौरवान्वित भएकी छु।’ प्रतियोगितामा अमेरिकाकी श्री सैनी दोस्रो र आइभरी कोस्टकी ओलिभिया येस तेस्रो भए।

Advertisement

२२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन्। मोडल समेत रहेकी उनी पौडी, स्कुवा डाइभिङ, टेनिस र ब्याडमिन्टन खेल्न रुचाउँछिन्।
पोल्याण्डले यो उपाधि दोस्रोपटक जितेको हो। यसअघि सन् १९८९ मा एनेता क्रेगलिकाले ‘मिस वर्ल्ड’को उपाधि जितेकी थिइन्।

‘मिस वर्ल्ड’ २०२१ को १६ डिसेम्बर २०२१ मा आयोजना हुने भनिएको थियो तर त्यतिखेर १७ जना प्रतियोगीमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थगित गरिएको थियो।

मिस नेपाल नम्रता श्रेष्ठ भने अन्तिम ३० मा छानिएकी थिइन्। प्रतियोगिता १०० भन्दा बढी देशहरूमा प्रसारण गरिएको थियो।