काठमाण्डौ । परराष्ट्र मन्त्रालयलका अनुसार हिजो बेलुकासम्ममा ३०३ जनाले युक्रेन छोडेको पुष्टि भएको छ । रुसले युक्रेनको राजधानी किभसहित पूर्वी क्षेत्रमा आक्रमण बढाएपछि त्यस क्षेत्रमा रहेका नेपाली सुरक्षित ठाउँको खोजीमा छन् ।
केहि नेपाली युक्रेनबाट बाहिरिने क्रममा अलपत्र परेका खबर आएकाले सरकारले उनीहरुलाई जर्मनीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म तीन सय तीन जनाले युक्रेन छोडेको आधिकारिक जानकारी मन्त्रालयमा आएको छ । युक्रेन छोड्नेको संख्या यो भन्दा केही बढी हुन सक्ने सम्भावना रहे पनि औपचारिक जानकारी आइसकेको छैन ।
नेपालीहरु युक्रेनबाट बाहिरिने क्रममा सबैभन्दा धेरै पोल्याण्ड गएका छन् । अहिलेसम्म दुई सय ३२ नेपाली पोल्याण्ड पुगिसकेका छन् भने ३९ जना स्लोभाकिया, ९ जना हंगेरी र २३ जना रोमानिया पुगिसकेका छन् । युक्रेनमा रहेका केही नेपाली अझै बाहिरिने पर्खाइमा छन् ।