रुस र युक्रेनबीच भइरहेको युद्धमा विभिन्न देशले युक्रेनलाई सहयोग गर्ने भएका छन् । यतिबेला युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले अलग–अलग देशबाट समर्थन जुटाइरहेका छन् ।
रुसले युक्रेनमाथि गरेका हमलाप्रति यसअघि नै निन्दा गरिसकेको जर्मनीले पुरानो नीति परिवर्तन गर्दै युक्रेनलाई हतियार पठाउने भएको हो । जर्मनीका चान्सलर ओलाफ शल्ट्सले यसको पुष्टि गरेका छन् । उनले जर्मनीले एक हजार एन्टी ट्यांक हतियार र पाँच सयवटा जमीनबाट हावामा मार हान्न सक्ने मिसाइल युक्रेनलाई सहयोग गर्ने जानकारी दिए । जर्मनीले युद्ध क्षेत्रमा हतियार निर्यातमा प्रतिबन्ध लगाउने आफ्नो पुरानो नीतिमा परिवर्तन गरेको हो । युक्रेनका राष्ट्रपतिले जर्मनीको यो कदमको स्वागत गरेका छन् ।
जर्मनीका यातायात मन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी विमानको प्रवेशलाई रोक लगाउने घोषणा गरेका छन् । यसअघि एस्टोनिया, पोल्याण्ड, बुल्गारिया र चेक रिपब्लिकले पनि यस्तो प्रतिबन्ध लगाएको थियो ।
त्यस्तै, अमेरिकी विदेश मन्त्रालयले पनि युक्रेनलाई एन्टी ट्यांक मिसाइल, एन्टी एयरक्राफ्ट सिस्टमसहित ३५० मिलियन डलर बराबरको हतियार पठाउने जनाएको छ । नेदरल्याण्डले पनि ५० एन्टी ट्यांक हतियार र ४०० वटा रकेट युक्रेनलाई दिनेछ ।
उता किएभमाथि रुसी हमलाबीच राजधानी किएभको बाहिरी इलाका वासिल्किवमा एक तेल डिपोमा हानी पुगेको खबर बीबीसीले दिएको छ ।
अब किएभको प्रशासनले डिपोमा आगलागी भएको छ र त्यहाँबाट विषालु धुँवा निस्किरहेकोले सबैलाई आफ्नो घरको झ्याल–ढोका बन्द गर्न सल्लाह दिइएको छ ।
सोसल मिडियामा तेल डिपोमा आगलागी भएको भन्दै यस्ता थुप्रै भिडियो पोस्ट गरिएका छन् । भिडियोमा ठूलो परिमाणमा हावामा धुँवा आइरहेको देखिएको छ ।
यसअघि युनाइेटेड नेसन्सको ह्यूमन राइट्स हाई कमिश्नरको तर्फबाट बताइए अनुसार हालसम्मको हमलामा २४० जना हताहत भएका छन् । यीमध्ये कम्तिमा ६४ जनाको मृत्यु भएको छ ।