November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली समाज यूकेको अध्यक्षमा राई निर्बिरोध

6.3K

जनता समाजवादी पार्टी ,नेपालको प्रवास अङ्ग नेपाली समाज यूकेको अध्यक्षमा कमल प्रसाद राई निर्विरोध रूपमा निर्वाचित भएका छन् । समाजको पार्टी समायोजनपछि शनिबार भएको पहिलो महाधिवेशनले राई अध्यक्षमा निर्वाचित गरेको हो ।

अल्डरटको एम्पायर हलमा सम्पन्न भएको महाधिवेशनले राईको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको थियो । उनी यसअघि समाजका सहअध्यक्ष रहेका थिए । नयाँ कार्य समितिको पाँच उपाध्यक्षहरूमा वल्लभ गुरूङ, हुमकुमारी गुरूङ, सुमित्रा राई, युमा लिम्बु र विजय लुम्फुङ्वा रहेका छन् । त्यस्तै, सचिवमा तत्कालीन महासचिव मिलन चन्द्र राई आएका छन् । संशोधिता विधानले महासचिव पदको व्यवस्था यसपटकबाट हटाएको हो । तीन सहसचिवहरूमा लीला सेलिङ माबो, कुमार घले र तेज माबो लिम्बु रहेका छन् । कोषाध्यक्षमा विनोद कुमार राई र सहकोषाध्यक्षहरूमा धनकाजी गुरूङ र दिलसिङ मेन्याङ्वो लिम्बु रहेका छन् । सदस्यहरूमा सुमनचन्द्र राई, प्रास्ना कुमार राई, राजेन्द्र नाल्वो, शुभचन्द्र राई, बल बहादुर राई, टीका मादेन, चन्त वनेम, मैत लिम्बु र सन्तवीर नेम्वाङ रहेका छन् । बाँकी सदस्यहरू भने आगामी बैठकले मनोनीत गर्ने निर्वाचन समितिका संयोजक एवम् पार्टीका केन्द्रीय सदस्य टेक बहादुर थापाले जानकारी दिए ।

निर्वाचन मण्डलको सचिवमा समाजक पूर्व अध्यक्ष धर्म तामाङ र पूर्व केन्द्रीय सदस्य राजेन्द्र खिम्दिङ रहेका थिए । त्यसैगरी, अध्यक्ष मण्डल संयोजकमा पूर्व उपाध्यक्ष जङ्ग सुनुवार, सचिवमा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव रामचन्द्र राई र सदस्यमा समाजका पूर्व अध्यक्ष कमल गुरूङ रहेका थिए ।

Advertisement

यसअघि, पार्टीका संघीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुरमा भट्टराईले भर्चुअल रूपमा प्रमुख अतिथिका रूपमा नेपालबाट सम्बोधन गर्दै पार्टी स्थापना गर्न प्रवासमा रहेका नेता र कार्यकर्ताहरूको महत्वपूर्ण भूमिका रहेको बताए । उनले आगमी बैशाखमा हुने निर्वाचनका लागि समेत प्रवासका नेपाली समाजहरूको साथ र सहयोग आवश्यक पर्ने जनाए । कार्यक्रममै पार्टीका केन्दीय सदस्य एवम् प्रवास इञ्चार्ज आङकाजी शेर्पा र लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालले समेत धारणा राखेका थिए । उक्त कार्यक्रममा पार्टीका केन्द्रीय नेता भगवान चाम्लिङ राई, एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरूङ, होन्स्लोका मेयर विष्णु बहादुर गुरूङ, तमुधीं यूकेका अध्यक्ष हितकाजी गुरुङ, नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङ, महामन्त्री इन्द्रहाङ लिङ्देन लगायत उपस्थित रहेका थिए ।

महाधिवेशनबाट निर्वाचित भएलगत्तै सिलौटी टाइ्रम्सलाई पहिलो प्रतिक्रिया दिँदै अध्यक्ष कमल प्रसाद राईले संगठनलाई एकताबद्ध बनाउँदै क्षेत्रीय समितिहरूको विस्तारमा लागिपर्ने बताए । त्यसैगरी, भूतपूर्व गोरखा सैनिकहरूको सवालमा नेपाली नागरिकताको सवाललाई पनि प्राथमिकतामा राख्ने जनाए । उनले मूल पार्टी जसपाभित्र योगदानका आधारमा प्रवासबाट प्रतिनिधि कोटाको व्यवस्था हुनुपर्ने समेत माग राखे ।