काठमाडौं । भारतीय चर्चित गायिका लता मंगेशकरको निधन भएको छ । ९२ वर्षको उमेरमा आइतबार मंगेशकतको निधन भएको हो ।
यसै वर्ष जनवरी महिनाको सुरुवातमा कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । स्थितिमा सुधार नभएपछि उनी हप्तौँसम्म आइसीयूमा भर्ना थिइन् ।
लता मंगेशकर एक महान पार्श्गायिका थिइन् । उनले भारतीय फिल्मी सङ्गीतलाई एक नयाँ परिभाषा दिएको धेरैको मान्यता छ । उनलाई भारतकी सुर कोकिला भनिन्थ्यो । उनको फिल्मी सङ्गीत करियर आधा शताब्दिभन्दा पनि लामो रह्यो जसमा उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन् ।
थुप्रै दशकसम्म लता मंगेशकर भारतकी सबैभन्दा चर्चित र मागमा रहने गायिका रहेकी थिइन् । बलिउडका हरेक ठूला अभिनेत्रीको आफूले अभिनय गर्ने गीतलाई लता मंगेशकरले नै स्वरबद्ध गरुन् भन्ने चाहना हुन्थ्यो ।
उनी यति लोकप्रिय थिइन् कि उनको हरेक एल्बम दशौँ हजारको संख्यामा बिक्रि हुने गर्दथ्यो ।
लता मंगेशकरको जन्म २८ सेप्टेम्बर सन् १९२९ को मध्य भारतको शहर इन्दौरमा भएको थियो । उनका पिता पंडित दिनानाथ मंगेशकर पनि गायक थिए । उनी थिएटर कलाकार पनि थिए र मराठी भाषामा सङ्गीतमय नाटकका निर्माता पनि थिए ।