November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

योगी आदित्यनाथको नाममा ठगी गर्ने पत्रकार पक्राउ

2.9K

नयाँ दिल्ली : भारतको दिल्ली प्रहरीको साइबर सेलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नाममा देशका ठूला सरकारी कम्पनीलाई ब्ल्याकमेल गर्ने पत्रकारलाई पक्राउ गरेको छ।

योगी आदित्यनाथ गोरखपुरबाट भारतीय जनता पार्टीका सांसद भएका वेला उक्त ब्ल्याकमेल गरिएको थियो। त्यसपछि योगीका निजी सचिव राजभूषणसिंह रावतले दिल्ली प्रहरीमा उजुरी दिएका थिए।

उनले योगी आदित्यनाथको नाममा कसैले इमेल आइडी बनाएर उच्च अधिकारीहरूलाई नक्कली पत्र पठाएको भन्दै उजुरी दिएका थिए।

Advertisement

यी इमेल पावर ग्रिड कर्पोरेशन, आयल एन्ड नेचुरल ग्यास कर्पोरेशन, गेल इन्डिया जस्ता ठूला कम्पनीका शीर्ष अधिकारीहरूका नाममा लेखिएका थिए। ती पत्रमा योगी आदित्यनाथको नक्कली हस्ताक्षर पनि गरिएको थियो। घटनाको गम्भीरता बुझेर दिल्ली प्रहरीले उजुरी दर्ता गरेको थियो।

उजुरी दर्ता भएपछि इमेल आइडी yogiadityanath.mp@gmail.com को बारेमा अनुसन्धान शुरु गरिएको थियो। यो इमेल आइडीबाट पठाइएका सबै मेलहरूको सामग्री स्क्यान गरियो।

आयल एन्ड नेचुरल ग्यास कर्पोरेशन, गेल इन्डिया कम्पनीलाई इमेलमार्फत पठाइएका दुई पत्रहरूमा ‘टप न्यूज’ नामक पत्रिकालाई विज्ञापन दिन सिफारिस गरिएको थियो।

प्रहरी अधिकारी डिएसपी केपिएस मल्होत्राले भने, ‘आइपी ठेगाना ट्रेस गरेपछि मनोजकुमार सेठ नामक व्यक्तिले ती इमेल पठाएको पत्ता लाग्यो। दिल्ली पुलिसले आफ्नो खोजी गरिरहेको सेठले थाहा पाए र उनी भूमिगत भएर भाग्दै हिँड्न थाले।’

त्यसपछि यसको अनुसन्धानमा एसपी रमन लाम्बा, इन्स्पेक्टर सज्जन सिंह, वेदपाल सिंह र जवान अमितको टोली गठन गरिएको थियो। गुप्तचरको सूचनाको आधारमा शुक्रबार मनोजकुमारलाई पक्राउ गरिएको थियो।

सोधपुछका क्रममा उनले आफू पत्रकार भएको र ‘समाज आइना’ नामको पाक्षिक पत्रिका समेत चलाउने बताए। आफ्नो पत्रिकाको विज्ञापन उठाउन यो षड्यन्त्र रचेको पनि खुलासा गरे। 

उनले पत्रकारको पेशाको दुरुपयोग गर्दै पैसा उठाउने गरेका थिए। छानबिनपछि उनीविरुद्ध कटक प्रहरीमा मुद्दा दर्ता भएको देखिएको छ। 

-एजेन्सीको सहयोगमा