काठमाडौं । सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई टीका बहादुर कुँवरले विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
बजारमा सिटामोल औषधिको अभाव भएको र संविधानले जनतालाई स्वास्थ्यलाई आधारभूत अधिकारका रुपमा स्वीकार गरेको दाबीसहित उनले सामान्य औषधिको समेत अभाव हुँदा सरकार मूकदर्शक बन्नु संविधानकै उपहास हुने रिट निवेदकको जिकिर गरिएको थियो ।
उक्त रिट निवेदनमाथि मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको छ । इजलासले सिटामोलको अभाव हुनुमा कारण देखाउनसमेत विपक्षीहरूलाई आदेश दिएको छ । दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्नु पर्ने या नपर्ने भन्नेबारे छलफलका लागि समेत बोलाएको छ ।