काठमाडौं । राजेशपायल राई र पेमा देचेन तामाङको आवाज रहेको ‘सै हँमा सै हँपा’ बोलको गीत सार्वजनिक भएको छ । प्रखर कवि तथा गीतकार टीका चाम्लिङको अब्बल शब्द–रचना र राजेशपायल राईको सङ्गीतमा ‘सै हँमा सै हँपा’ बोलको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो । दार्जिलिङकी पेमा द भ्वाइस किड्स नेपाल–२०७८ की उत्कृष्ट ८ सम्म पुग्न सफल भएकी थिइन् ।
उक्त गीतको भिडियोमा गायक राजेशपायल राई र गायिका पेमाको अभिनय पनि रहेको छ भने भिडियोलाई राजेशपायल राई म्युजिक एकेडेमी तथा राजेशपायल राई फाउन्डेसनले संयुक्त रूपमा प्रस्तुत गरेको छ । यो सिर्जनालाई नेपाली साहित्य र सङ्गीतको फाँटका लागि अर्को प्राप्तिका रूपमा लिन सकिन्छ ।
विगत तीनदसकदेखि एकपछि अर्को अब्बल शब्दरचनाका माध्यमबाट आफूलाई नेपाली साहित्यिक तथा साङ्गीतिक धरातलमा अब्बल सावित गर्दै आइरहेका एक जना स्वाभिमानी र इमानदार गीतकार टीका चाम्लिङको यो पछिल्लो रचना उत्कृष्टताको अर्को दृष्टान्त हो भन्ने कुरा सिर्जना स्वयंले सिद्ध गरेको छ ।
गीतकारले गीतमा प्रयुक्त ‘सै हँमा सै हँपा’ शब्द किराती राई चाम्लिङ भाषाबाट लिएका हुन् । नेपाली गीत लेखनक्षेत्रमा प्रयोग भएको सम्भवतः पहिलो गीत हो– सै हँमा सै हँपा । अत्यन्तै सम्मानित व्यक्तिहरूका लागि सम्बोधन गरिने यी शब्दहरूको प्रयोगले गीतमा नयाँपन थपिएको छ ।
भिडियो राजेशपायल राईको अफिसियल युट्युब च्यानलमाबाट सार्वजनिक भएको हो ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।