November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मेडिकल कलेजमा चलिरहेको आन्दोलनमा ऐक्यबद्धताका लागि विद्यार्थी संगठनको अपिल

3.8K

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले नोबेल मेडिकल र के. एम. सी लगायत मेडिकल कलेजहरूमा चलिरहेको विद्यार्थी आन्दोलनमा ऐक्यबद्धताका निम्ति अपिल गरेको छ । मंगलवार संयुक्त विज्ञप्ति जारी गर्दै नागरिक समाज, अभिभावकहरू, पत्रकार लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गरिएको हो ।

विज्ञप्तिमा विनेविसंघ अध्यक्ष राजीव ढुङ्गाना, अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, मोहन वैद्य निकट अखिल(क्रान्तिकारी)का हरिकृष्ण गजुरेल ,विप्लव विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैटौँका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईद्वारा हस्ताक्षर गरिएको छ ।

विज्ञप्तिमा कलेज प्रशासनको दुर्व्यवहार र दमनको निन्दा गर्दै घाइते विद्यार्थीहरूको स्वास्थ्य लाभको कामना गरिएको छ ।

Advertisement

संयक्त विद्याथी संगठनद्धारा जारी विज्ञप्ति ।

सोमबार विद्यार्थीहरूबाट नोबेल प्रशासन विरुद्ध गरेको सिट्ठी जुलुसमा कलेज प्रशासनको हस्तक्षेप हुँदा विद्यार्थी नेताहरू ताजिम अन्सारी, दीपेन्द्र मेहता टेकेन क्षेत्री ,उमेश सेन्चुरी, सोयब अन्सारी, शहिल झा सहित १ दर्जन बढी विद्यार्थी घाइते भएका छन् । शान्तिपूर्ण कार्यक्रममा दमन गरेको प्रति आक्रोशित विद्यार्थी संगठनले इँटको जवाफ पत्थरले दिने भन्दै समस्या समाधानमा पहल नगरे थप कडा सङ्घर्षमा उत्रने चेतावनी दिएका छन् ।

काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्क विरुद्ध चलेको आन्दोलनमा विद्यार्थी र कलेज प्रशासनबीच समझदारी कायम हुन नसक्दा आन्दोलन थप मुठभेडतर्फ अघि बढेको थियो । विद्यार्थीका मागहरू सम्बोधन गर्न कलेज प्रशासन तयार नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले मागपत्र टाँसेर काठमाडौँ मेडिकल कलेज प्रशासनमा दुई दिन अघि ताला लगाएका छन् ।