November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ मा कोभिड–१९ रोकथामका लागि सर्वदलीय छलफल

2.6K

विराटनगर । प्रदेश १ सरकारले कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा राजनीतिक दलहरूसँग प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ।

रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा शुक्रबार छलफल आयोजना गरिएको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

मुख्यमन्त्री राईले कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले छलफल कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे।

Advertisement

उनले राजनीतिक दलहरूको दलीय संयन्त्र आधारभूत तहसम्म हुने भएकाले दलहरू र तिनका भ्रातृ संगठनको परिचालनले रोगविरुद्ध लड्न सकिने विश्वास व्यक्त गरे।

‘सरकारको प्रयासमा दलहरूले साथ दिए कोभिडविरुद्ध तय गरिएका योजना सफल हुन सक्छन्’, मुख्यमन्त्री राईले भने। प्रदेश १ मा खोपको पर्याप्त व्यवस्था भए पनि पछिल्लो समय खोप लगाउन आउने संख्यामा कमी आएकोमा राजनीतिक दलहरूलाई यसप्रति जागरण पैदा गरिदिन उनले अपिल समेत गरे।

कोरोनाको तेस्रो लहर सकेसम्म निषेधाज्ञा वा लकडाउन गर्ने अवस्था नआउने गरी सामना गर्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिँदै पटकपटकको लकडाउनले जनताको दैनिकी, रोजीरोटीसहित मुलुकको अर्थतन्त्र चौपट हुनेतर्फ सरकार संवेदनशील रहेको बताए।

होल्डिङ सेन्टरको अनुगमन

यस्तै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीहरूको टोलीले बिहीबार विराटनगरको भारतसँग सीमा जोडिएका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन्।

सरकारले सीमा क्षेत्रमा निर्माण गरिरहेको होल्डिङ सेन्टर, जोगबनीबाट रानी प्रवेश गर्ने मुख्य नाका र कोरोना भाइरस नियन्त्रणका लागि सीमा क्षेत्रमा भइरहेको कामका बारेमा पनि मुख्यमन्त्रीसहितको टोलीले अनुगमन गरेका हुन्।

भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्ररूपमा बढिरहेको हुँदा प्रदेश १ मा ओमिक्रोनको संक्रमण प्रसार हुनसक्ने सम्भावित नाकाहरूमा निगरानी बढाउन र नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्न सरकार तत्पर रहेको मुख्यमन्त्री राईले बताए।