काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा दुई वटा विद्रोही समूहबीच झडप हुँद कम्तिमा १६ जनाको ज्यान गएको छ । भेनेजुएलासँगको सिमाना नजिकै हिंसात्मक झडप हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय समाचार माध्यमहरूका अनुसार कोलम्बियाको पूर्वी क्षेत्रमा अवस्थित अराउका नगरमा आइतबार भएको झडपमा मारिनेमध्ये अधिकांश फार्क र इएलएनका सदस्य रहेका छन् ।
कोलम्बियाको राष्ट्रपति कार्यालयले आइतबार भएको हिंसात्मक झडपमा मारिनेको आधिकारिक विवरण सार्वजनिक गरेको छैन । तर अराउकामा मानव अधिकारसम्बन्धी मामिला हेर्ने सरकारी अधिकारी युआन कार्लोस भिलाटेले एक स्थानीय रेडियो स्टेशनसँग कुरा गर्दै मृतकको संख्या ५० पुग्न सक्ने बताएका छन् ।
फार्क र इएलएन दुवै कम्युनिस्ट विद्रोही समूह हुन् । सन् २०१६ मा सरकारसँग शान्ति सम्झौता भएपछि फार्कले हतियार बिसाइसकेको छ भने इएलएनले सशस्त्र संघर्ष जारी राखेको छ । तर सरकारसँग भएको शान्ति सम्झौता अस्वीकार गर्दै आएका फार्कका केही सदस्यले २०१८ मा पुनः हतियार उठाउने घोषणा गरेका थिए ।