November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सल्यानको जंगलमा मानव कंकाल फेला

4.9K

सल्यान : सल्यानको कुमाख गाउँपालिका–७ जिमालीस्थित काउले खोलामा मानव कंकाल फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा कुहिएको अवस्थामा पुरुषको कंकाल शनिवार फेला परेको हो। स्थानीयले जंगलमा घाँस काट्ने क्रममा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बाटोबाट झन्डै २० मिटर तल खोल्सामा फेला परेको कंकाल कुमाख गाउँपालिका–७ जिमालीका अन्दाजी ६० वर्षीय गंगाराम नाथको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी श्यामप्रकाश यादवले जानकारी दिए।

Advertisement

घटनास्थलबाट प्रहरीले जुत्ता, कपडा, टोपी भेटिएको प्रहरीले जनाएको छ। उक्त सामानको आधारमा घरपरिवारले नाथको कंकाल भएको पहिचान गरेको यादवले बताए। नाथ गत मंसिर १२ गते काम गर्न भन्दै घरबाट गएका थिए।

घरमा नआएपछि घरपरिवारले खोजी गरे पनि फेला पार्न सकेको थिएन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।