November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रिय जनगणनामा दुई जाति थपिए

२०७८ कार्तिक ३०

4.1K

गोरखा । गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले राष्ट्रिय जनगणना २०७८ मा आफ्नो पहिचान सूचीकृत गराएका छन्। चुम र नुब्री उपत्यकाका भोटे लामा समुदाय यसपटक छुट्टै जातिका रूपमा समेटिएका हुन् । चुमवासीले गणकसँग जात र भाषा चुम्बा अनि नुब्रीवासीले नुब्री नै लेखाएका छन्।

लामा थर लेख्ने गरेका उनीहरूलाई २०६८ सालको जनगणनामा तामाङअन्तर्गत सूचीकृत गरिएको थियो। संस्थागत रूपमा र युवाहरूको सामूहिक पहलमा जनगणनामै वास्तविक जात र भाषा लेखाउन अभियान सञ्चालन गरिएको किमोलुङ फाउन्डेसनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले बताए।

‘नुब्री उपत्यकावासीले जाति र भाषामा नुब्री लेख्न र चुम उपत्यकावासीले चुम्बा लेख्न हामीले घरदैलो अभियान सञ्चालन गरी सचेत गरायौँ’, उनले भने, ‘सामाजिक सञ्जालमार्फत पनि प्रचार–प्रसार गरिरहेका छौं। टोल–टोलका अगुवालाई टेलिफोन गरी सचेत गराइरहेका छौं।’ यसपटकको जनगणनामा पहिचान स्थापित हुने विश्वास उनले व्यक्त गरे।

Advertisement

आफ्नो पहिचान स्थापित गराउन स्थानीय युवा नै गणकमा खटिएको नुब्री क्षेत्रका पेमा ग्याल्बो लामाले बताए। ‘तल्लो भेगका गणकले हाम्रो मर्म र भावनाअनुसार काम नगर्ने अनुमान गरी यसपटक प्रत्येक वडामा स्थानीय सचेत युवा गणकमा खटिएका छौं’, उनले भने, ‘गाउँका अशिक्षित, निमुखा व्यक्तिले वास्तविक तथ्यांक टिपाउन सकेनन् भने पनि स्थानीयस्तरका गणकले मिलाएर टिप्नेछन्।’

चुम्बा र नुब्रीले ‘कोड’ भने नपाएकाले तथ्यांक विभागसँग समन्वय गरी कोड नम्बर नलेखी चुम्बा र नुब्री लेखेको उनले बताए।