November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एमाले नेतृत्वको प्रदेश सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गरिने

२०७८ कार्तिक २६

2.8K

दमक । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले पूर्ववर्ती एमाले नेतृत्वको प्रदेश सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गरिने बताएका छन् ।

भीम आचार्य नेतृत्वको सरकारका राजनीतिक नियुक्तिलगायत विषयहरू पूनरावलोकन गर्ने सैद्धान्तिक निर्णय नयाँ मन्त्रिपरिषद्ले गरिसकेको भन्दै मन्त्री यादवले भने –‘जे जस्ता नियुक्तिहरू भएका छन्, तिनको पुनरावलोकन गरिनेछ । असंवैधानिक नियुक्तिहरू बदर हुनेछन् ।’

विहीबार झापाको दमकमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै यादवले भीम आचार्य मुख्यमन्त्री भएपछि राजनीतिक स्वार्थबाट प्रेरित भएर सबै बजेट बाँड्ने काम भएको भन्दै गठबन्धन सरकार बनेसँगै अब ती सबैमा पुनरावलोकन गरिने जानकारी दिए ।

Advertisement

बजेट निर्माण हुँदाको समयमा एमाले नेतृत्वको सरकार भएकाले वर्तमान सरकारले धेरै विकासे कार्यक्रमका लागि बजेट विनियोजन गर्न सक्ने अवस्था नरहेको भन्दै मन्त्री यादवले वर्तमान गठबन्धन सरकार र आफूले नेतृत्व गरेको मन्त्रालयबाट जनताका धेरै अपेक्षा पूरा हुन नसक्ने स्पष्ट पारे ।

समयावधि धेरै नरहे पनि आफूले प्रदेशका जनताको हितमा काम गर्ने र जनभावनाको सम्मान गर्ने यादवको भनाइ थियो । उनले सङ्घीयतालाई कार्यान्वयन गर्ने सवालमा वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।

जसपा निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेताहरुको अगुवाईमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश नम्बर १ अध्यक्ष प्रवीण चाम्लिङलगायत प्रदेशका नेता सहभागी थिए । विद्यार्थी नेता सुनिल राईले स्वगत गरेको कार्यक्रममा युवा र विद्यार्थीहरुको उल्लेखनीय सहभागिता थियो ।