लन्डन – हाल बेलायतको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री प्रेम बहादुर आलेसंग गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ। बिहीबार, ४ नोभेम्वर, अपरान्ह ५:३० बजे अल्डरशटस्थित एनआरएनए युकेको कार्यालयमै अन्तरक्रिया कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक तथा एनआरएनए युकेका उपाध्यक्ष शकुन गुरुङ्गले जानकारी दिए ।
“बेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री प्रेम बहादुर आलेज्यूलाई हाम्रो कार्यालयमा स्वागत गर्नुकf साथै हाम्रा चासोहरुबारे जानकारी दिन यो कार्यक्रम आयोजना गर्न लागिएको हो,” एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले भने।
उनले गत शनिबार लन्डनस्थित नेपाली दूतावासमा प्रधान मंत्री शेर बहादुर देउवालाई भेटेर एक ज्ञापन पत्र बुझाएको पनि स्मरण गरे।
“नागरिक उड्डयन मंत्री प्रेम बहादुर आलेलाई पनि हामीले नेपाल तथा बेलायतबीच सिधा हवाई सेवा संचालन गर्न अनुरोध गर्दै एक ज्ञापन पत्र बुझाउने छौं,” अध्यक्ष गाहा मगरले भने। यसै साता बेलायत आइपुगेका पर्यटन मंत्री प्रेम बहादुर आलेले ब्रिटिश अधिकारीहरुसंग भेट वार्ता गरिरहेका छन्।