काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री विरोध खतिवडाले अगामी निर्वाचनमा आफ्नो पार्टी एमालेभन्दा ठूलो हुने दाबी गरेका छन् । पार्टी निकट युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले आगामी निर्वाचनमा केपी ओलीको एमालेले भन्दा बढी सिट ल्याएर जित्ने बताए ।
मन्त्री खतिवडाले भने, ‘केपी ओलीको एमालेले भन्दा हामी निर्वाचनमा बढी सिट ल्याएर जित्छौँ । तर, कति सिट ल्याउँछौँ अहिले भन्न सकिँदैन ।’ पार्टी के मुद्दा लिएर फुटेको हो भन्ने कुरामा भर पर्ने भन्दै उनले विगतसँग वर्तमानको तुलना गर्न नमिल्ने तर्क गरे । साथै फुटेर जाने पार्टी सकिने भनेर वामदेव गौतमको उदाहरण दिनु अहिलेको समयमा नमिल्ने पनि बताए ।
त्यसैगरी उनले कम्युनिस्ट आन्दोलन जोगाउन मात्रै बाध्य भएर नयाँ पार्टी गठन गरेको बताए । भक्तपुरका सांसद तथा एमाले नेता महेश बस्नेतलाई फुच्चेको संज्ञा दिँदै मन्त्री खतिवडाले एक्लै तालमेल बिना चुनाव जितेर देखाउन चुनौती दिए ।
‘हामीलाई मिडियाले एस पार्टी भन्छ, अब ओलीको पार्टी नो पार्टी । हामी एस पार्टी, एस भनेको राम्रो पार्टी’, उनले भने ।