काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले प्रदेश १ को मुख्यमन्त्रीमा आज सपथ लिँदैछन् । राईलाई दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
मुख्यमन्त्रीको सपथ लिएसँगै मन्त्रीको टुङ्गो नलागे तापनि राईले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।
नेपाली कांग्रेसबाट संसदीय दलका उपनेता हिमाल कार्कीलाई पठाउने लगभग टुंगो लागेको स्रोतले जनाएको छ । यस्तै माओवादीबाट दलका नेता इन्द्र आङ्बोलाई पठाउने तयारीबारे छलफल भइरहेको छ ।
मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन लागेको हो ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।
