विराटनगर : प्रदेश १ को पाँचदलीय विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन्।
यसअघिे प्रदेशसभाको नवौँ तथा हिँउदे अधिवेशनको चौथो बैठक कात्तिक ७ गते आइतबार मुख्यमन्त्री भीमप्रसाद आचार्यको विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथि छलफल हुने र सोही दिन मत विभाजन हुने गरी बैठक आह्वान गरिएको थियो।
तर, प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेको बैठकको मिति परिवर्तन गरी पाउँ भन्ने निवेदनका आधारमा कात्तिक १५ गतेसम्म बैठक स्थगित गरिएको थियो।
आचार्यको विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची छ।
विश्वासको मतमाथि मतदान हुने अघिल्लो दिन आइतबार बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राईलाई अघि सार्ने निर्णय गरेको हो।
