संखुवासभा : संखुवासभको खाँदबारी नगरपालिका ९ तुम्लिङटारबाट दुईजना चिनियाँ पक्राउ परेका छन्। प्रहरीले तुम्लिङटारको बुद्ध होटलबाट अवैध औषधि सहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चीनको सिचुवान प्रान्त घर भई हाल तुम्लिङटार बस्ने सान्तोङ र यू छिनग्लिन रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अधिकारी शुभेष अधिकारीले जानकारी दिए।
आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटार प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्ध होटलमा लुकाइराखेको अवस्थामा राजस्व छली गरेर ल्याएको पिबिओजी औषधि सहित चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए।
विशेष सुराकीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ। प्रहरीले बुद्ध होटलको कोठा नम्बर ५०२ बाट आठ सय किलोग्राम पिबिओजी औषधि समेत बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
बरामद भएको पिबिओजी औषधि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ। पक्राउ परेका चिनियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
रुद्राक्षको कारोवारका लागि संखुवासभाको तुम्लिङटार विमानस्थल हुँदै ३३ चिनियाँ नागरिक जिल्ला भित्रिएका छन्। पछिल्लो समय रुद्राक्षको कारोबारका लागि चिनियाँ नागरिक संखुवासभा र भोजपुर आउने गरेका छन्।