लन्डन । सरकारले तीन मित्र राष्ट्रहरू भारत, अमेरिका र बेलायतका लागि नयाँ राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदुतको सिफारिस गरेको हो ।
स्रोतका अनुसार भारतका लागि डाक्टर शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस गरिएको छ ।
डाक्टर शंकर शर्मा यसअघि पनि राजदूत भइसकेका थिए । उनी अमेरिकाका लागि राजदूत भएका थिए। यस्तै खत्री परराष्ट्र मामिला विज्ञ हुन् भने आचार्य पूर्वसचिव हुन् ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलाका सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको थियो ।
सिफारिस भएकाहरू संसदीय सुनुवाइबाट अनुमोदन भए उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।