November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याइने: मन्त्री खतिवडा

२०७८ कार्तिक ११

2.7K

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले भारत र चीनमा १२ वर्षमुनिका बालकालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपश्चात नेपालले पनि खोप ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।

“बाह्र वर्षमुनिका बालबालिकाका लागि लगाउने खोपको अहिले भारत र चीनमा दोस्रो चरणको सफल परीक्षण सकेर तेस्रो (अन्तिम) चरणको परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “तेस्रो चरणको सफल परीक्षण सकेर विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिइसकेपछि हामीले उक्त खोप ल्याउँछाँै ।

” भारत वा चीन जसले हामीलाई चाँडो खोप उपलब्ध गराउँछ सोही मुलुकबाट खोप ल्याइने तयारी भइरहेको उहाँको भनाइ छ । अहिले १२ वर्षभन्दामाथिका उमेरसमूहका बालबालिकालाई लगाउनका लागि सरकारले फाइजर र मोर्डना खोप ल्याउन थालेको छ । केही दिनअघि मात्र अमेरिका सरकारले कोभ्याक्समार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको थियो ।

Advertisement

मन्त्री खतिवडाले फाइजर ६० लाख र मोडर्ना ४० लाख मात्रा खोप सुनिश्चित गरिएको जानकारी दिनुभयो । “हामी खोपका लागि पैसा पनि तिरिसकेका छौँ”, उहाँले भन्नुभयो, “चाँडै नै फाइजर र मोडर्ना खोप ल्याउँछौँ ।” ती दुबै खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइन्छ । उहाँले स्वास्थ्य संवेदनशीलतामा भ्रष्टाचार हुन नदिने प्रतिबद्धतासमेत जनाउनुभयो ।