हेटौंडा : बागमती प्रदेशमा आज बिहीबार गठबन्धन दलले नयाँ सरकार गठन गर्दै छ। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएपछि गठबन्धनले आज सरकार गठनको तयारी गरेको हो।
मुख्यमन्त्री शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म बहुमत पुर्याएर सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका छन्। गठबन्धनले बुधबार नै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बहुमत सांसदको हस्ताक्षर बुझाइसकेको छ। अब अन्य दलले बहुमत पुर्याउन नसक्ने हुँदा गठबन्धनकै सरकार बन्ने निश्चित छ।
३ बजेसम्म अन्य दलको दाबी नआए साढे ३ बजे पाण्डेलाई मुख्यमन्त्री शपथ गराउने प्रदेश प्रमुख शर्माको तयारी छ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै पाण्डेले आजै ३ जना मन्त्री नियुक्त गर्दै सानो मन्त्रिमण्डल विस्तार गर्ने जनाइएको छ। जसमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक/एकजना मन्त्री बन्ने भएका हुन्।
को–को बन्लान् मन्त्री ?
मुख्यमन्त्रीमा पाण्डेको नियुक्ति हुने तयारी भइरहँदा गठबन्धनबाट नयाँ बन्ने सम्भावित मन्त्रीको नामबारे चर्चा भइरहेको छ । सम्भावित नाममा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान, नेपाली काँग्रेसका कृष्ण भँडेल र नेकपा (एकीकृत समाजवादी)का कृष्ण खनाल छन् ।
चर्चामा आए अनुसार माओवादी केन्द्रकी मोक्तानले आन्तरिक तथा मामिला मन्त्रालय पाउने सम्भावना छ । यो मन्त्रालय माओवादी केन्द्रले लिने सहमति बनेमा पूर्वमन्त्री शालिकराम जम्मकट्टेल नै सरकारमा सहभागी हुने पनि स्रोतको भनाइ छ ।
अर्थ मन्त्रालय कांग्रेसका भँडेलले पाउने चर्चा छ भने एकीकृत समाजवादीका खनालले सामाजिक विकास मन्त्रालय पाउने सम्भावना रहेको स्रोत बताउँछ । तर मन्त्रालय भागबन्डाका विषयमा गठबन्धनको बैठक बसिरहेकाले टुंगो भने अझै लाग्न बाँकी रहेको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक मुनु सिग्देलले बताइन् ।