November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

खोप लगाउन योग्य सबै नागरिकलाई सकेसम्म निःशुल्क खोप लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

२०७८ कार्तिक ११

2.4K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा सबै नागरिकलाई सकेसम्म निःशुल्क खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्ती देउवाले आगामी ६ महिनाभित्र सरकारले सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको जानकारी गराउदै खोपमा कुनै कमी हुन नदिन भनेका छन् ।

‘खोपमा कुनै कमी नहोस् । दाताहरुसँग त्यहीअनुसार मागौँ, आग्रह गरौँ । बरु आफै खरिद गरौँ । तर, सबै नागरिकलाई सकेसम्म निःशुल्क खोप लगाउने व्यवस्था गरौँ,’ देउवाले निर्देशन दिए ।

Advertisement

प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन गरेका हुन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो । तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।

केन्द्रको पहिलो बैठकले केन्द्रको जनशक्ति व्यवस्थापन र संगठन संरचनासम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा हाल कोरोना संक्रमणको अवस्था, चाडबाडको बेलामा संक्रमणमा भएको घटबढ, नेपाल र अन्य देशहरुमा संक्रमणको अवस्था, जोखिमहरु र खोप आयात तथा खोप व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको ३४ प्रतिशतले कोभिडविरुद्ध खोपको पहिलो मात्रा पाएका छन् भने २२ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री भएपछि प्रतिनिधिसभा बैठकमा पहिलो सम्बोधनमै आगामी चैतभित्र खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोप लगाउने व्यवस्था गर्ने घोषणा गरेका थिए ।