काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । आज प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिने बताएकी हुन् ।
आज विश्वासको मत लिने प्रस्तावमाथि मतविभाजन गर्न प्रदेश सभा बैठक बसेकोमा विश्वासको मत नपाउने निश्चित भएपछि शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् ।
शाक्यले मुख्यमन्त्रीको नाताले मार्गप्रशस्त गरेको बताएकी छन् । ‘आगामी दिनमा मिलेर अगाडि बढ्न यही बाटो ठिक हुन्छ भन्ने एमालेलाई लाग्यो । मन्त्रीहरू र दलको बैठक पनि बसियो । यसैगरी जाँदा राम्रो हुन्छ भनेर मार्गप्रशस्त गरेकी छु ।’ उनले भनिन् ।
नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य भदौ २ मा मुख्यमन्त्री बनेकी थिइन् । मुख्यमन्त्री बनेदेखि नै उनी अल्पमतमा परेकी थिइन् । उनले अल्पमतकै भए पनि सरकार चलाएको र प्रभावकारी काम गरेको दाबी गरेकी थिइन् ।
बागमती प्रदेशमा अब विपक्षी गठबन्धनबाट मुख्यमन्त्री बन्ने भएका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे भावी मुख्यमन्त्रीका रूपमा अघि बढेका छन् ।