लण्डन । बेलायतको अल्डरसटमा बनेको नेपालीको शिव मन्दिरको उद्घाटन कार्यक्रम सुरू भएको छ । लामो प्रतीक्षा पछि अल्डरसटस्थित शिव मन्दिरको विहिबार उद्घाटन शुरू गरिएको हो । उद्घाटन कार्यक्रम तीन दिनसम्म गरिने भएको छ ।
मन्दिरका कार्यवाहक अध्यक्ष तथा पूर्व डिएसपी बाचस्पती रेग्मीको अध्यक्षतामा सेप्टेम्बर ११ का दिन बसेको बोर्ड अफ ट्रस्टिजÞ र कार्यसमितिको बैठकले गरेका निर्णय अनुसार आजबाट उद्घाटन कार्यक्रम शुरू भएको हो । बैठकले आराध्यदेव पशुपतिनाथ काठमाडौंको प्रतिस्वरूप चतुर्मुखी शिवलिङ्गसहित अन्य मूर्ति र प्रतिमाहरूको प्राण प्रतिष्ठापन तथा मन्दिर उद्घाटन अक्टोवरको ७, ८ र ९ तारिक अर्थात् बिहिवार घटस्थापनाबाट सुरु गरेर शनिवारसम्म गर्ने निर्णय गरेको थियो ।
उद्घाटनर प्राणप्रतिष्ठा बेलायतवासी गुरु चिरञ्जीवी ढकाललगायत अन्य विद्वान् गुरुहरूको सहभागितामा पूर्ण वैदिक प्रकृयाबाट लगातार तीन दिनसम्म गरिने भएको छ ।
मन्दिरभित्र सामाजिक तथा धार्मिक इभेन्ट्स गर्न करिब अढाइ सय जना अट्ने हल र ४–४ वटा महिला पुरुषका लागि शौचालय बनाइएका छन् भने आपाङ्गमैत्री शौचालय पनि बनाइएको छ । करिब ४० हजार पाउण्ड खर्च गरेर छानो पनि नयाँ राखिएको छ । मण्डपसहितको मन्दिर क्षेत्र छुटयाइएको छ, जसले गर्दा मानिसको भीड हुँदा पनि सुरक्षित रहने मन्दिर व्यवस्थापनले जनाएको छ ।
पशुपतिनाथको प्रतिस्वरूप मुख्य मूर्ति बेलायतका प्रसिद्ध समाजसेवी रविजङ्ग लामिछानेले सहयोगस्वरूप उपलब्ध गराएका हुन् ।