November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चीनले नेपाललाई कोरोना भाइरसविरूद्धको १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने

2K

काठमाडौ । चीनले नेपाललाई कोरोनाभाइरसविरूद्धको १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने भएको छ । काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा चिनियाँ सरकारले थप १० लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिएकी हुन् ।

राज्यमन्त्री श्रेष्ठले ट्वीटरमा उल्लेख गरेअनुसार कोरोनाभाइरसको तेस्रो लहर रोक्नका लागि चाहिने पूर्वाधार बनाउन नेपाललाई चीनले ५० लाख चिनियाँ युआन (९ करोड २४ लाख रुपैयाँ) सहयोग गर्ने भएको छ । श्रेष्ठका अनुसार चीनले तीन लाख डोज खोप नेपाली सेनाका लागि पनि अनुदान दिने बताएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि सिनोभ्याक खोप ल्याउनेबारे दुई देशका अधिकारीहरूले आवश्यक तयारी गरिरहेको जनाएको छ ।

Advertisement

चीनले यसअघि नेपाललाई भेरोसेल खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले पनि चीनसँग सोही खोप खरिद गरेको थियो । सिनोभ्याक खोप अहिलेसम्म नेपालमा प्रयोग भएको छैन ।